राजनीतिक आबद्धता
उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । मुलुकमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सहभागी भएको आरोपमा उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविमा पढ्दापढ्दै पक्राउ परे । १३ वर्षकै उमेरमा गिरफ्तार भई १३ दिन हिरासतमा बसे । २०३१ सालमा अञ्चलाधीशको ठाडो आदेशमा २९ दिन हिरासतमा बसे । २०३७ सालमा ५७ दिन अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा बसे ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिई बीपी कोइराला काठमाडौं ओर्लंदा उनको स्वागतमा सक्रियतापूर्वक खटिनेमध्येका गिरी एक हुन् । २०३४ सालमा कांग्रेस दाङको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय महाधिवेशन तयारी समिति संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको महासचिव भए । २०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनीधि एवं महासमिति सदस्य छन् । उनी १२ औं महाधिवेशनदेखि लगातार तेस्रोपटक कांग्रेस केन्द्रीय सदस्य छन् ।