जनता समाजवादी पार्टी

२०४० सालमा नेपाली कांग्रेसबाट अलग्गिएर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् नामक संस्था गठन गरेर त्यसबाट मधेसको अधिकार खोजी गर्न थाले । २०४६ सालमा मुलुकमा बहुदल आएपछि ०४७ सालमा उनले त्यही सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रूपमा अगाडि बढाए । 'हात' चिन्ह लिएर मधेसका केही जिल्लामा चुनाव उठे । संसद्मा पुगे ।

संसदीय चुनावमा एमालेको उम्मेदवार बनिसकेका उपेन्द्र यादवले ०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्थामार्फत् राजनीतिक गतिविधि अगाडि बढाए । माओवादी शान्ति प्रक्रिायमा आइसकेपछि ०६३ माघ १ गते जारी अन्तरिम संविधानमा संघीयताको मुद्दा समावेश नगरिएको भन्दै उपेन्द्र यादवहरूले उक्त संविधानको प्रति जलाएर चर्चा मात्रै बटुलेनन्, मधेस विद्रोह नै गराए । र, त्यसैको जगमा उनले 'मधेसी जनअधिकार फोरम नेपाल' गठन गरे । त्यसैबाट संविधानसभामा राम्रै उपस्थिति जनाए ।

२०६४ मंसिरमा कांग्रेस नेता महन्थ ठाकुरले पार्टी परित्याग गरेर तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । ०७२ जेठमा फोरममा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी मिसिएपछि मधेसी जनअधिकार फोरमको नाम संघीय समाजवादी फोरम बनेको थियो । ०७६ मा बाबुराम भट्टराईको नयाँशक्ति जोडिएर समाजवादी पार्टी बन्यो ।

०७७ सालमा समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) बन्यो । त्यसको एकवर्षपछि महन्थहरू निस्केर अलग्गै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । अहिले जसपा अध्यक्ष उपेन्द्र यादव छन् । चुनाव चिन्ह 'छाता' रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा